
माघ १२, दैलेख
जिल्लाको गुराँस गाउँपालिका–४ रतिखोलामा निर्माणाधिन अवस्थामा रहेको लक्ष्मी माध्यामीक बिद्यालयको दुई कोठे भवन निर्माण कार्य पूरा नहँुदै भत्किन थालेको छ ।
प्रदेश सांसदको पूर्वाधार बिकास कार्यक्रमको २० लाख र गाउँपालिकाको १४ लाख गरी ३४ लाखको लागतमा निर्माण सुरु गरिएको दुई कोठे भवन निर्माणको काम पूरा नहुँदै भत्किन थालेपछि अभिभावकहरु आक्रोशित बनेका छन ।
भवन प्रभावकारी बनेपछि पठनपाठनमा सहयोग होला भनेको निर्माणको जिम्मा लिएकाहरुबीचको आपसी खिचतानीले भवन निर्माण कार्य पूरा नहुँदै अलपत्र अवस्थामा पुगेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
विद्यार्थीहरुको भविष्य उज्जवल बनाउने जिम्मा पाएको बिद्यालय व्यवस्थापन समितिलेनै गैर जिम्मेवारी काम गरेपछि समस्या बढेको अभिभावकहरुको गुनासो छ । कुल बजेटमध्ये २८ लाख रकम भुक्तानी भैसकेको छ । भवन निर्माणको काम भने ५० प्रतिशत मात्र सम्पन्न भएको छ ।
भवन निर्माणमा लापरवाही भएका कारण भवनको दुबै कोठाका केहि भाग पलास्टर गरीएको देखिन्छ, केही भाग बाँकी नै छन्, पलास्टर पनि हातले हल्लाउँदा उम्किन्छ । एउटा पिल्लर समेत भत्किने अवस्थामा रहेको छ ।
विद्यालयका प्राधानाध्यापक नयाराम शाहीले काम भए अनुसार रकम भुक्तानी भएको बताएका छन् । कोरोनाका कारण लकडाउन भए पछि काम रोकीएकाले पुरा काम हुन नसकेपछि वजेट फ्रिज भएको बताएका छन् । भवन निर्माणको काम २०७६ माघबाट सुरु गरी ०७७ असारसम्म निर्माण पूरा गरीसक्नुपर्ने थियो समयमै काम नसकेपछि बजेट फ्रिज भयो । अहिले बिद्यालय भवन पुरा हुन पाएको छैन्, अलपत्र अवस्थामा छ ।
गुराँस गाउँपालिकाका योजना तथा अनुगमन अधिकृत मदन प्रकाश मल्लले प्राबिधिक मूल्याङ्कन र वडाको सिफारिसका आधारमा प्राप्त जानकारी अनुसार रकम भुत्तानि दिएको र बाँकी रकम फ्रिज गएको बताएका छन् ।









